काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राप्रपाका इलाम जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलाम, झापा र ताप्लेजुङका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतको म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
आन्दोलनका बेला इलाम नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रहरी पोस्ट, विद्यालय, सहकारी, विभिन्न पार्टी कार्यालयलगायत ठाउँमा ठूलो क्षति पुगेको थियो।
केवल इलाम नगरपालिका कार्यालयमै करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अन्य निकायमा समेत कागजात, फर्निचर, सवारीसाधन र उपकरण जलाइएका वा तोडफोड गरिएको थियो।
आन्दोलनपछि जेनजी समूहले विज्ञप्ति जारी गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरे पनि विध्वंश मच्चाउने व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न माग गरेको थियो।
प्रतिक्रिया दिनुहोस