काठमाडौँ,२५ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन् । शाक्यले मन्त्रीसंगको भेटमा आफ्नो पुनर्बहालीबारे जानकारी गराएका छन्। सर्वोच्च अदालतले शाक्यलाई कार्यकारी निर्देशकको रूपमा पुनः पदबहाली गर्न आदेश दिएपछि उनी बुधबार प्राधिकरणमा फर्किएका हुन्।
आज बिहीबार शाक्यले मन्त्रालयमा पुगेर मन्त्री घिसिङलाई अदालतको आदेशअनुसार पदमा फर्किएको जानकारी दिए। भेटमा मन्त्री घिसिङले शाक्यलाई विगतका द्वन्द्वभन्दा पनि ‘परिणाममुखी काम’मा ध्यान दिन निर्देशन दिएका छन्। उनले प्राधिकरणको काम प्रभावकारी बनाउन सबैसँग मिलेर अघि बढ्नुपर्ने बताए।
घिसिङले शाक्यलाई बाहिरी प्रभावभन्दा सरकार र प्राधिकरणको हितलाई प्राथमिकता दिन आग्रह गरे। साथै, आवश्यक सामग्रीको अभाव नहुने गरी व्यवस्थापन गर्न निर्देशन पनि दिए।
मन्त्रीको सुझाव सुनेपछि शाक्यले पहिलेझैँ मिलेर, अझ बढी जोसका साथ इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। उनले सरकारको नीति र प्राधिकरणको हितलाई प्रमुख मानेर अघि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस