दाङ,६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सडकमा आश्रित भएर जीवन बिताइरहेका व्यक्तिको उद्धार र सम्मानजनक जीवनको सुनिश्चितताका लागि ऐतिहासिक कदम चालेको हो।
मानवसेवा आश्रमसँगको सहकार्यमा तुलसीपुरलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ उपमहानगरपालिका घोषणा गरिएको हो। आइतबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्था तथा सरोकारवालाको उपस्थितिमा नगरप्रमुख टिकाराम खड्काले उक्त घोषणा गरेका हुन्। यस अवसरमा घोषणापत्र मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले सडक जीवन कुनै व्यक्तिको रोजाइ नभई परिस्थितिको उपज हुने उल्लेख गर्दै पीडितलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए। मानवीय सेवाभन्दा ठूलो धर्म अरू नहुने उनको भनाइ थियो।
नगरप्रमुख खड्काले यो अभियान औपचारिकतामा सीमित नराखी व्यवहारमै लागू गरिने प्रतिबद्धता जनाए। लुम्बिनी प्रदेशमै पहिलो पटक यस्तो घोषणा गर्न पाउँदा गर्व महसुस भएको भन्दै उनले उपमहानगरवासीलाई सडकमा आश्रित व्यक्तिलाई देखे तत्काल मानवसेवा आश्रमसम्म पुर्याउन सहयोग गर्न आग्रह गरे।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले २०८२ सालभित्र देशभरका स्थानीय तह तथा सातै प्रदेशलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ बनाउने लक्ष्य रहेको जानकारी दिए। चालु वर्षको अन्त्यसम्म नेपाललाई नै यस्तो घोषणा गर्ने तयारी भइरहेको उनको भनाइ थियो।
घोषणासँगै तुलसीपुरमा मनोसामाजिक समस्या भएका, खुला आकाशमुनि बस्न बाध्य, खाने–बस्ने व्यवस्था नभएका ज्येष्ठ नागरिक, अनाथ, अपाङ्गता भएका, मनोरोगी तथा जीवन संकटमा परेका व्यक्तिको उद्धार, संरक्षण र व्यवस्थापन मानवसेवा आश्रमले उपमहानगरपालिकाको आर्थिक सहयोगमा गर्नेछ।
उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस