after_navbar

नीतिगत अन्योलले स्थानीय अर्थतन्त्र सङ्कटमा


पुष ०६, २०८२


दाङ,६ पुस। नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनको अभावका कारण स्थानीय अर्थतन्त्र गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको सरोकारवालाहरूले बताएका छन्। स्थानीय तहमा युवालाई अर्थतन्त्रसँग जोड्ने स्पष्ट नीति, सिपयुक्त कार्यक्रम र परिणाममुखी योजना नहुँदा बेरोजगारी समस्या जटिल बन्दै गएको उनीहरूको भनाइ छ ।

ad

तुलसीपुर उद्योग वाणिज्य संघ र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा आयोजित स्थानीय अर्थतन्त्रको सवलीकरणका लागि युवा सहभागिता विषयक नीति संवाद तथा कार्यशाला गोष्ठीमा वक्ताहरूले यस्तो बताएका हुन्। उनीहरुले नीति बनाउने भन्दा पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित उपलब्धि नआएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले माटो सुहाउँदो उद्यमशीलता बिना अर्थतन्त्र सुधार सम्भव नहुने स्पष्ट पारे । “स्थानीय स्रोत र कृषि उत्पादनमा आधारित उद्यम प्रवर्द्धन गर्न सके रोजगारी सिर्जना हुन्छ,” उनले भने । विदेशीने मानसिकताका कारण युवाहरु कृषि र स्थानीय उद्यममा उपेक्षित हुँदा बेरोजगारी बढेको उनको भनाइ थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थानीय तहमा युवाको वास्तविक अवस्था, सिप र दक्षतासम्बन्धी तथ्यांक नहुँदा नीति प्रभावकारी हुन नसकेको बताए । “तालिम दिएर मात्र हुँदैन, त्यसको निरन्तरता, बजारसँगको सम्बन्ध र ट्रेसर स्टडी अनिवार्य छ,” उनले भने । डिजिटल प्रणाली बिना रोजगारदाता र जनशक्तिबीचको दूरी घटाउन कठिन हुने उनको भनाइ थियो ।

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले बेरोजगारी अन्त्यमा सरकार र निजी क्षेत्रसँगै परिवारको पनि भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । कम ब्याजदरमा ऋण, जिम्मेवारीपूर्ण सोच र अवसरको सदुपयोग गर्न सके स्थानीय स्तरमै सम्भावना प्रशस्त रहेको उनले बताए ।

योजना विद् डा। नहकुल केसीले लुम्बिनी प्रदेशमा अझै ११ प्रतिशत युवा पूर्ण बेरोजगार रहेको उल्लेख गर्दै राष्ट्रिय युवा नीति लागू भए पनि स्थानीय तहमा त्यसको प्रभाव नदेखिएको बताए । युवाको आवश्यकता, चाहना र रोजगारी सिर्जनासम्बन्धी तथ्यांक संकलन, विश्लेषण र त्यसअनुसार बजेट तथा कार्यक्रम ल्याउन स्थानीय सरकार गम्भीर हुनुपर्ने उनको जोड थियो ।

कार्यक्रमले स्पष्ट नीति, स्थानीय तहको नेतृत्व, युवामैत्री बजेट र प्रभावकारी कार्यान्वयन बिना स्थानीय अर्थतन्त्र सवलीकरण सम्भव हुने सहभागीहरुको भनाई थियो। कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघका कर्मचारी पारेश्वर भट्टराईले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="