दाङ,९ पुस । आज बिहानै देखि दाङ उपत्यकासहित तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ ।
विभागले तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो कम्तीमा तीन दिनसम्म रहने जनाएको छ । यसका कारण जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्ला केही दिनदेखि विशेषगरी तराईका अधिकांश स्थानमा निरन्तर हुस्सु र कुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न र तातो तथा झोलिलो खानेकुरा सेवन गर्न सुझाव दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो कायमै रहने अनुमान छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस