दाङ , ९ पुस । सरकारी काम गर्न प्रायः सम्बन्धित कार्यालयमै पुग्नुपर्छ। अहिलेसम्म चल्दै आएको विधि पनि यही नै हो। तर, सेवाग्राहीको सहजताका लागि सेवाग्राहीकै गाउँघरमा पुगेर कार्यालयले सेवा दिने कार्य सुरु गर्नु भने नयाँ हो। दाङको एक स्थानीय सरकार यो कार्यमा अग्रसर देखिएको छ।
सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने परम्परागत अभ्यासलाई अन्त्य गर्दै दाङको बबई गाउँपालिकाले वडास्तरमा, त्यो पनि गाउँघरमै पुगेर वडामा सञ्चालन गरिने विकास निर्माण लगायतका योजना सम्झौता गर्ने अभियान सुरु गरेको छ। उपभोक्ता समितिको सहजता, पारदर्शिता र छिटोछरितो कामका लागि यसो गरिएको पालिकाले जनाएको छ। यो कार्य दाङ जिल्लामै पहिलो र नमुना अभ्यासका रूपमा रहेको पालिकाले दाबी छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम ओलीले नागरिकले पालिकाबाट पाउने सेवा सहज रूपमा पाऊन् भन्ने उद्देश्यले गाउँमै पुगेर उपभोक्ताहरूसँग योजना सम्झौता गर्न थालेको बताए। गाउँपालिकाले ‘सेवा लिन होइन, सेवा दिन गाउँ जानुपर्छ’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै वडास्तरमै सम्झौता प्रक्रिया अघि बढाएको उनले बताए। ‘सेवा नागरिकको ढोकासम्म पुग्नुपर्छ भन्ने हो’, उनले भने, ‘पालिकाले त्यसैअनुसार सेवा दिने प्रयास थालेको छ।’
प्रमुख प्रशासकीय अधिकृत ओलीले नागरिकले सानासाना योजनाका लागि पालिका धाउनुपर्ने अवस्थालाई अन्त्य गर्न यो अभियान सुरु गरेको बताए। ‘सेवा नै नागरिककहाँ पुग्दा समय, खर्च र झन्झट घट््छ, साथै योजनाको काम समयमै र पारदर्शी रूपमा अघि बढ््छ, भन्ने विश्वासल राखेका छौं’, उनले भने, ‘अहिले १ नं वडाबाट यो अभियान सुरु गरेका छौं।’ दुई दिने शिविर नै सञ्चालन गरेर योजना सम्झौता गाउँबाट गर्न सुरु गरिएको उनले बताए।
गंगटेमा दुई दिने योजना सम्झौता सिविरपालिकाको अभियानअन्तर्गत बबई गाउँपालिका–१ को गंगटेमा दुई दिने योजना सम्झौता शिविर सञ्चालन गरिएको छ। शिविरमार्फत सम्बन्धित वडाका उपभोक्ता समितिहरूसँग प्रत्यक्ष रूपमा योजना सम्झौता गरिएको छ भने वित्तीय शिक्षा र योजना कार्यान्वयनबारे सीप र जानकारीसमेत गराइएको स्थानीयले बताए।
स्थानीय सेवाग्राहीले गाउँमै आएर योजना सम्झौता हुँदा आफूहरू लाभाम्वित भएको बताए। सानो कामका लागि पालिका जानुपर्ने बाध्यता र झन्झट हटेको, समय र खर्च दुवै जोगिएको उनीहरूको भनाइ छ। यो कार्यले स्थानीय नागरिक खुसी देखिएका छन््। उनीहरूले गाउँमै सेवा पाउनु सकारात्मक परिवर्तन भएको प्रतिक्रिया दिए।
स्थानीयले पालिका तथा जनप्रतिनिधिहरूलाई धन्यवाद दिँदै जनप्रतिनिधिहरू यसरी नै गाउँ–घरमै पुगेर सेवा दिनु जनमुखी र प्रशंसायोग्य कार्य भएको बताए। नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा दिन सकिए स्थानीय शासन अझ प्रभावकारी र विश्वासिलो बन्ने, सरकारप्रतिको अपनत्व बढ््ने स्थानीय रगु बुढाले बताए।
बबई गाउँपालिकाले यो अभ्यासलाई आगामी दिनमा सबै वडामा निरन्तरता दिने तयारी गरेको जनाएको छ। स्थानीय तहबाट सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउने दिशामा बबई गाउँपालिका रहेको पालिका अध्यक्ष कुलबहादुर खत्रीले बताए । अन्नपूर्ण पोस्टबाट
प्रतिक्रिया दिनुहोस