after_navbar

बालअधिकरको विषयमा सरकार प्रतिबद्ध छ:मन्त्री श्रेष्ठ


पुष १८, २०८२


काठमाडौं,१८ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकारले बालअधिकार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।

ad

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मन्त्री श्रेष्ठसँग भेट गरी बालअधिकार सुदृढीकरणसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको हो।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्रालय पुगेर बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा प्रभावकारी बाल संरक्षण प्रणाली निर्माणका लागि नीतिगत, कार्यक्रमिक र बजेटगत सुधार आवश्यक रहेको विषय उठाएको छ।


भेटका क्रममा सिजपले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रको रूपमा सुनिश्चित गर्नुपर्ने, बालउत्तरदायी बजेट कार्यान्वयन, बालविवाह अन्त्य, बाल संरक्षण प्रणाली सुदृढीकरण, स्थानीय तहमा बाल अधिकार समिति र बालकल्याण अधिकारीको व्यवस्था, सडक बालबालिका मुक्त नेपाल घोषणा लगायतका माग राखेको छ। साथै अनलाइन बाल सुरक्षासम्बन्धी कार्यविधि, बालमैत्री पूर्वाधार निर्माण र बाल अदालत सशक्तीकरणसम्बन्धी माग पनि अघि सारिएको छ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री श्रेष्ठले बालअधिकारको संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले सिजपले उठाएका विषयहरू गम्भीर रूपमा अध्ययन गरी कार्यान्वयनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिन्। बालअधिकारका विषयमा नागरिक समाजसँग सहकार्य गर्दै नीतिगत तथा संस्थागत सुधारमार्फत प्रभावकारी काम गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो।

सशस्त्र द्वन्द्वकालमा बालबालिका र विद्यालयमाथि परेको असरलाई ध्यानमा राख्दै सिजप अभियान सन् २००१ देखि सुरु भएको हो। अभियानले सन् २००३ यता नेपालमा बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्न निरन्तर अभियान चलाउँदै आएको छ।

सिजपले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै बालबालिकाको अधिकार, संरक्षण र समुचित विकास सुनिश्चित गर्न निरन्तर वकालत गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="