काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ ।
यसैबीच सामाजिक सञ्जालमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै पार्टी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सभापति देउवाका स्वकीय भानु देउवाले जारी गरेको वक्तव्यमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने उद्देश्यले सभापति देउवा बन्दसत्रमा सहभागी हुने भन्दै गलत सूचना प्रवाह गरिएको उल्लेख गरिएको छ । वक्तव्यमा उक्त विषयप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
वक्तव्यमा अगाडि भनिएको छ, “उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाज्यू जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।”
विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज महत्वपूर्ण चरणमा प्रवेश गर्न लागेको छ । बन्दसत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि पारित गरिने बताइएको छ ।
त्यसपछि सात प्रदेश, काठमाडौं उपत्यका तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधि समेटिएका गरी नौ समूह बनाएर नीति, नियम, विधान तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे गहन छलफल गरिने कार्यसूची रहेको जनाइएको छ ।
बन्दसत्रले राजनीतिक प्रतिवेदन तथा नीति पारित गर्नुका साथै हलको म्यान्डेटअनुसार नयाँ नेतृत्व चयन गर्ने निर्णयसमेत गर्ने तयारी रहेको कांग्रेस स्रोतले जनाएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस