after_navbar

बाँसको चोयाबाट सामग्री उत्पादन तालिम : व्यवसायिक बन्न जोड


१६ घण्टा अगाडि


दाङ,४ जेठ ।तुलसीपुरस्थित तकियापुरमा  एक महिने बाँसको चोयाबाट सामग्री उत्पादन तालिम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजना,वडा नं २ को समन्वय तथा पर्यटन डिभिजन कार्यालय बांकेको आर्थिक सहयोगमा उक्त तालिम सन्चालन भएको थियो। तालिमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री चौधरीले तालिमले स्थानीय स्तरमा सिपको विकास गर्दै आयआर्जनको अवसर सिर्जना गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए। उनले तालिमबाट सिकेको सीपलाई निरन्तरता दिँदै आयआर्जनमा जोड्नुपर्ने बताए। व्यवसायीक रुपमा जोडिए उत्पादित सामग्रीको  बजारको समस्या नभएको समेत उल्लेख गरे।

  समूह बनाएर काम गरे राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो। ‘तपाईहरु समुहगत रुपमा काम गर्नुभयो भने बजारको समस्या हुने छैन त्यसको व्यवस्थापन हुने छ। उनले भने- तर बजारको माग,आवश्यकता अनुसारको सामग्री के-कति उत्पादन गर्ने त्यसको विश्लेषण गरेर सामग्री उत्पादन गर्न जरुरी छ।’

व्यवसायी ढंगले अगाडी बढेमा  बिक्री कक्ष, तालिम र उपकरणका लागि  प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।  

वडा नं. २ का वडा अध्यक्ष भीमबहादुर योगीले बाँस आफैंमा महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै यसलाई चोयामा रूपान्तरण गरी सामग्री उत्पादन गर्नु सकारात्मक काम भएको बताए। उनले उत्पादनसँगै बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वडा सभापति   भिमबहादुर ओलीले सिकेको सीपलाई निरन्तरता दिन र समूह बनाएर काम गर्न आग्रह गरेका छन् ।

त्यस्तै ज्येष्ठ नागरिक वडा नं. समितिका अध्यक्ष उदिराम डांगीले यस्ता सीपमूलक तालिमले समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने धारणा राखे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै  थर्ड आई नेपालका सुगम भण्डारीले तालिमले आत्मनिर्भर बन्न सहयोग गर्ने बताए भने प्रशिक्षक बृशधोज बिक ले बजारीकरणमा समस्या रहेको उल्लेख गर्दै सहयोग आवश्यक रहेको बताए।

प्रशिक्षार्थीहरू पुस्करी रावतले तालिम उपयोगी भएको प्रतिक्रिया दिएकी थिइन् ।

एक महिनासम्म सञ्चालन भएको उक्त तालिममा बाँसको चोयाबाट डस्टबिन , पेनहोल्डर, फुल्दानी, गमला ,फोटोफ्रेम लगायतका विभिन्न सामग्रीहरु निर्माण गर्न सिकाइएको थियो। समापन कार्यक्रमको सहजीकरण थडाई नेपालका सन्तोष लामिछानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="