after_navbar

सुर्खेत, दैलेख र अछाममा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह


१४ घण्टा अगाडि


दाङ,२१ असार । सुर्खेत, दैलेख र अछाममा निरन्तर वर्षा भइरहेकाले ती जिल्लामा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रसहित आसपासका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

गए राति पनि सुर्खेत, दैलेख र अछामसहित देशका अधिकांश स्थानमा वर्षा भएको थियो। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहित बाढी आउँदा एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।


महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम अझ बढ्ने सम्भावना छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा ठूलो वर्षा हुन सक्ने जनाइएको छ।

यस्तै, आज राति सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षा हुने क्षेत्रमा आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले नदीनाला आसपास र पहिरो सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="