after_navbar

​दाङको तुलसीपुरमा श्रमिक र श्रमिक सञ्जाल बीच अन्तर्क्रिया: यातायात व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन जोड


१२ घण्टा अगाडि


​दाङ १९ असार ।दाङको तुलसीपुरमा श्रमिक र श्रमिक सञ्जालहरू बीच विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले यातायात क्षेत्रमा सवारी सुरक्षा, उपभोक्ताको हित र श्रमिकहरूको व्यवहारमा सुधार ल्याउँदै यो व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्।

​कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले सवारी दुर्घटना नेपालको सबैभन्दा ठुलो चुनौती बनेको बताए। दैनिक ७–८ जनाको दुर्घटनामा मृत्यु भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “अहिले नेपालमा दैनिक ७-८ जनाको सवारी दुर्घटनामा मृत्यु भइरहेको छ, जुन ठुलो चुनौती हो। विशेष गरी वर्षातको समयमा दुर्घटनाको जोखिम अझ बढी हुन्छ। त्यसैले दुर्घटना न्यूनीकरणका लागि वर्षमा कम्तीमा दुई पटक गाडीहरूको अनिवार्य प्राविधिक जाँच गर्ने मापदण्ड बनाइनुपर्छ। साथै, चालक तथा सहचालक साथीहरूले पनि आफ्नो खानपिन, लत र बोली-व्यवहारमा सुधार गरी समाजमा आफ्नो पेसालाई मर्यादित र प्रशंसनीय बनाउन आवश्यक छ।”

​त्यस्तै, कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय, दाङका प्रमुख सुदर्शन शर्माले अन्तर्क्रियाको निष्कर्षलाई व्यवहारमा उतार्न सबै श्रमिक र प्रालिहरू सक्रिय हुनुपर्ने बताए। उनले विषयलाई प्रष्ट पार्दै भने, “हामीले जुन उद्देश्यका साथ यो ‘श्रमिक र श्रमिक सञ्जालसँगको अन्तर्क्रिया कार्यक्रम’ आयोजना गरेका छौं, यसका निष्कर्षहरू यहाँ उपस्थित सबै श्रमिक र यातायात प्रालिहरू माझ पुगोस्। सबै श्रमिक साथीहरूले आफूसँग जोडिएका र सम्पर्कमा आउने सम्पूर्ण व्यक्तिहरूलाई सवारी सुरक्षा, उपभोक्ता तथा ग्राहकहरूको हित र श्रमिकका सवालहरूका विषयमा जानकारी गराउनुहुनेछ भन्ने आशा छ। कत्ति पनि कञ्जुस्याइँ नगरी यी कुराहरू बुझाएर यातायात व्यवसायलाई साच्चिकै सुरक्षित र मर्यादित बनाउनेतर्फ हामी लाग्नुपर्छ।”

​कार्यक्रममा विभिन्न यातायात प्रालिका प्रतिनिधि, मजदुर संगठनका पदाधिकारी तथा श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता चेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="