थारु परम्परा संरक्षण विधेयक समितिमा पठाउने प्रस्ताव
१६ घण्टा अगाडि
दाङ, २२ असार । लुम्बिनी प्रदेश सभामा थारु समुदायका परम्परा संरक्षणसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गरिएको छ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ प्रदेश सभा समक्ष प्रस्तुत गर्दै समितिमा पठाउन प्रस्ताव गरेका हुन् ।
मन्त्री तिमिल्सिनाले थारु समुदायका मौलिक परम्परा, संस्कृति, रीतिरिवाज र सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताए ।
उनका अनुसार विधेयकमाथि विस्तृत अध्ययन र दफावार छलफल आवश्यक भएकाले विषयगत समितिमा पठाउन प्रस्ताव गरिएको हो। प्रस्तावमाथि प्रदेश सभामा आवश्यक प्रक्रियाअनुसार छलफल अघि बढ्ने जनाइएको छ।
विधेयक समितिमा पुगेपछि सरोकारवालासँग परामर्श, आवश्यक संशोधन र दफावार छलफल गरी प्रतिवेदनसहित अन्तिम निर्णयका लागि पुनः सभामा पेस गरिनेछ।
प्रतिक्रिया दिनुहोस