काठमाडौ,४ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र आइतबारदेखि सम्पर्कविहीन भएका १४ जना महिला सकुशल घर फर्किएका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। तर खोजीका क्रममा ड्रोन प्रयोग गर्ने तयारी भइरहेकै बेला महिलाहरू आज दिउँसो आफैँ सम्पर्कमा आएका हुन्।
प्रमुख जिल्ला अधिकारी कोइरालाले फर्किएका सबै महिलालाई प्रशासनको टोलीले घरमै पुगेर भेट गरेको जानकारी दिए।
फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्ने क्रममा उनीहरू बाटो भुलेका थिए। रातभर जंगलमै बसेपछि बिहान उज्यालो भएपछि बाटो पहिचान गर्दै घर फर्किएका हुन्।
उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। मोबाइल साथमा नभएका कारण राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्ज प्रशासनलाई जानकारी गराएका थिए। हराएका १४ जनामध्ये ९ जना एउटै परिवारका रहेका छन्। यसअघि शुक्लाफाँटा क्षेत्रको बेलडाँडीमा हराएका तीन जना महिला भने हिजै सकुशल फेला परेका थिए।
प्रतिक्रिया दिनुहोस