दाङ,८ भदौ । दाङमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा ‘सानो खपटे किरा’ ९स्मल हाइभ बिटल० देखिएको भन्दै मौरीपालक किसानले चिन्ता व्यक्त गरेका छन्। किसानका अनुसार घारमा खपटे किरा देखिन थालेपछि मौरी कमजोर हुँदै जाने र क्रमशः नष्ट हुने समस्या देखिएको छ। यद्यपि दाङमा देखिएको किरा ‘स्मल हाइभ बिटल’ नै हो भन्ने कुरा भने अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।
हाल जिल्लामा देखिएको किरा ‘स्मल हाइभ बिटल’ हो वा अन्य कुनै प्रजातिको किरा हो भन्ने विषय नमुना परीक्षणपछि मात्र यकिन हुने भएकाले किसानलाई नआत्तिन विज्ञहरूले सुझाव दिएका छन्। उनीहरूले सम्बन्धित प्राविधिक निकायसँग समन्वय गरी आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
मौरीमा देखिएको किराको प्रजाति पहिचान गर्न कृषि ज्ञान केन्द्र, दाङको समन्वयमा नमुना सङ्कलन तथा परीक्षण सुरु गरिएको छ। किट विकास केन्द्र, मौरी विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’, काठमाडौंका विज्ञसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर मौरीका घारको अध्ययन तथा अनुसन्धान थालेको हो।
नेपाल मौरीपालक महासंघ, दाङका अध्यक्ष दिनेश वलीले जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा खपटे किरा देखिएको बताए। उनका अनुसार जिल्लामा करिब ३०० भन्दा बढी व्यावसायिक मौरीपालक किसान छन्। यसबाहेक थोरै सङ्ख्यामा मौरी पाल्ने कृषकको सङ्ख्या पनि उल्लेख्य रहेको उनले बताए।
अध्यक्ष वलीका अनुसार दाङमा करिब ३० हजार मौरीका गोला छन्। किसानका अनुसार वर्षायाममा मौरीका लागि प्राकृतिक आहारको उपलब्धता घट्दा मौरीका गोला कमजोर हुने समस्या देखिने गरेको छ। यस्तो अवस्थामा घारमा देखिएको किराको प्रभावबारे थप अध्ययन आवश्यक रहेको किसानहरूको भनाइ छ।
विशेषज्ञ टोलीले गरिरहेको नमुना परीक्षणबाट किराको वास्तविक प्रजाति र त्यसको प्रभावबारे स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। परीक्षणको नतिजाका आधारमा मौरीपालक किसानलाई आवश्यक प्राविधिक सुझाव तथा नियन्त्रणका उपायबारे जानकारी गराइने बताइएको छ।
प्रतिक्रिया दिनुहोस