after_navbar

‘प्रतिभा जन्मिन्छ, अवसर नपाए हराउँछ’ : ह्याण्डबल प्रशिक्षक लामिछाने


१४ घण्टा अगाडि


दाङ । लुम्बिनी प्रदेशमा ह्याण्डबल खेलको विकास र विस्तारका लागि लामो समयदेखि सक्रिय छन् सन्तोष लामिछाने। २०६४ सालमा खेलाडीका रूपमा ह्याण्डबल यात्रा सुरु गरेका उनी अहिले खेलाडी, प्रशिक्षक हुँदै लुम्बिनी प्रदेश ह्याण्डबल संघको सचिवको जिम्मेवारीमा छन्।

राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा खेलाडीका रूपमा सहभागी भएका लामिछानेले भारतको नेताजी सुभाषचन्द्र बोस राष्ट्रिय खेलकुद संस्थान (एनएसएनआईएस), पटियालाबाट कोचिङ कोर्ससमेत पूरा गरेका छन्। खेलाडीका रूपमा सिकेको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उनी प्रशिक्षणमा पनि सक्रिय छन्।

लामिछानेका अनुसार ह्याण्डबलमा प्रतिभाको कमी छैन, तर नियमित प्रतियोगिता, प्रशिक्षण, खेल सामग्री, पूर्वाधार र रोजगारीको अवसरको अभाव मुख्य चुनौती बनेको छ। खेलाडीलाई प्रशिक्षण दिएर मात्र नहुने भन्दै उनले उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने पर्याप्त प्रतियोगिता आवश्यक रहेको बताए।

‘प्रशिक्षकले खेलाडी खोज्छ, सिकाउँछ र तयार गर्छ। तर नियमित प्रतियोगिता र रोजगारीको अवसर नहुँदा त्यही खेलाडी अन्ततः वैदेशिक रोजगारीका लागि पलायन हुने अवस्था छ,’ उनी भन्छन्।

२०६४ सालदेखि मैदानमा पसिना बगाउँदै आएका लामिछाने बताउँछन्-‘विद्यालयस्तरबाट ह्याण्डबलको आधार तयार गर्ने, नियमित प्रतियोगिता सञ्चालन गर्ने, दक्ष प्रशिक्षकलाई अवसर दिने, खेल सामग्री र पूर्वाधार उपलब्ध गराउने तथा खेलाडीको भविष्य सुनिश्चित गर्ने नीति आवश्यक छ।प्रतिभा जन्मिन्छ, तर अवसर नपाए हराउँछ।’ यसर्थ लुम्बिनीको ह्याण्डबल विकासका लागि उनको यात्रा र आवाज यही अवसरको खोजीमा केन्द्रित छ।



प्रशिक्षकलाई पनि अवसर आवश्यक
:
लामिछाने खेलाडीलाई मात्र अवसर दिएर खेलको विकास सम्भव नहुने बताउँछन्। खेलाडी तयार गर्ने प्रशिक्षकलाई पनि राज्यले अवसर र सम्मान दिनुपर्ने उनको भनाइ छ। उनी भन्छन्- ‘राज्यले खेलाडी मात्र खोज्नु हुँदैन, खेलाडी बनाउने प्रशिक्षक पनि खोज्नुपर्छ,’।

उनका अनुसार दक्ष प्रशिक्षक भए पनि पर्याप्त रोजगारी र अवसर सिर्जना नहुँदा धेरै प्रशिक्षक स्वयंसेवकका रूपमा काम गर्न बाध्य छन्। खेलकुद क्षेत्रमा राजनीतिक प्रभावभन्दा खेलाडीको क्षमता, प्रशिक्षकको योग्यता र प्रदर्शनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

विद्यालयबाटै ह्याण्डबलको आधार:
ह्याण्डबललाई विद्यालयस्तरबाटै विस्तार गर्न सके नयाँ प्रतिभा पहिचान गर्न सहज हुने लामिछानेको विश्वास छ। राष्ट्रपति रनिङ शिल्डलगायत विद्यालयस्तरीय प्रतियोगितामा ह्याण्डबललाई प्रभावकारी रूपमा समावेश गर्नुपर्ने उनको सुझाव छ।

ह्याण्डबलका लागि ठूलो मैदान आवश्यक नपर्ने भएकाले विद्यालय र स्थानीय तहले सीमित पूर्वाधारमै यसको विकास गर्न सक्ने उनी बताउँछन्। करिब २० मिटर चौडाइ र ४० मिटर लम्बाइको कोर्टमा खेल सञ्चालन गर्न सकिने भएकाले ग्रामीण क्षेत्रका विद्यालयमा समेत ह्याण्डबल विस्तार गर्न सकिने उनको भनाइ छ।

प्रतियोगिता र सामग्रीको अभाव:
लुम्बिनीमा ह्याण्डबलको विकासमा खेल सामग्रीको अभाव, पूर्वाधारको कमी र नियमित प्रतियोगिता नहुनु प्रमुख समस्या रहेको लामिछाने बताउँछन्।

उनी भन्छन्।-‘खेलाडीले प्रशिक्षणबाट सिकेको क्षमता प्रतियोगितामा देखाउन पाउनुपर्छ। लामो समय प्रतियोगिता नहुँदा खेलाडीमा निराशा आउँछ।’ उनले ह्याण्डबलको विकासका लागि खेलाडी, प्रशिक्षक, विद्यालय, स्थानीय तह, खेल संघ र राज्यबीच सहकार्य आवश्यक रहेको बताए।

लुम्बिनीमा सम्भावना, अवसरको खाँचो:
लुम्बिनी प्रदेशमा ह्याण्डबलका लागि पर्याप्त सम्भावना रहेको लामिछानेको बुझाइ छ। ग्रामीण क्षेत्रदेखि विद्यालयसम्म प्रतिभाशाली खेलाडी भए पनि उचित प्रशिक्षण र प्रतियोगिताको अवसर नपाउँदा उनीहरू खेल क्षेत्रबाटै पलायन हुने गरेको उनको अनुभव छ।

खेलाडीले खेलमै भविष्य देख्न सक्ने वातावरण बनाउन सके लुम्बिनीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

data-href="