after_navbar

बेनीमा पहिरोले १२ घरमा क्षतिः थप १०० घर जोखिममा


११ घण्टा अगाडि


म्याग्दी । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार पछाडिको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्‍याएको छ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका-८, न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ घरमा क्षति पुगेको हो।

छ वटा घरभित्र पहिरोसँगै लेदो पसेपछि बस्न नमिल्ने भएका छन् भने अन्य छ घरमा आंशिक क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।

‘बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको छ। पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै पहिरो खसेपछि जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ,’ उनले भने, ‘थप क्षति हुन नदिन प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काममा जुटेका छौँ।’

न्युरोडका बासिन्दाले गएराति नै घर छाडेका थिए। कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकका शाखा कार्यालयमा रहेका महत्वपूर्ण सामग्री तथा कागजपत्र पनि सुरक्षित स्थानमा सारिएको नगरप्रमुख केसीले बताए।

बिहानदेखि नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीको टोलीले पहिरोको जोखिममा रहेका घरभित्रका सामान सुरक्षित स्थानमा सारिरहेको छ।

पहिरोको त्रासका कारण न्युरोडवासी रातभर जाग्राम बसेको स्थानीय चिरञ्जीवी शर्माले बताए। पहिरो प्रभावित घरमा डेरामा बस्नेहरूका लागि खानाको व्यवस्था मिलाइएको बेनी नगरपालिका-८ का वडाध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिए।

उनका अनुसार पछिल्लो चार दिनयता जमिन चिरा पर्ने क्रम बढेको थियो भने बुधबारदेखि पहिरो खस्न थालेको हो।

वडाध्यक्ष कर्माचार्यका अनुसार करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइको क्षेत्रमा खरबारी चिराचिरा परेर फुटेको छ।

‘पाखाका रूखहरू लडेका र ढल्किएका छन्। पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले तल र माथि दुवैतर्फ असर गरेको छ। बेनी बजारमा खानेपानी आपूर्ति गराउने मुख्य पाइपलाइन पनि चुँडिएका र ठाउँठाउँमा भाँचिएका छन्,’ उनले भने।

पहिरोका कारण बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घर जोखिममा परेका छन्। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिएको बताए।

भूगर्भविद्हरूको सुझावका आधारमा पहिरोबाट हुन सक्ने थप क्षतिको आकलन गरिने बताउँदै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

data-href="