after_navbar

भारत खोज, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न प्रतिबद्ध : रक्षामन्त्री सिंह


१ घण्टा अगाडि


काठमाडौ,१५ भदौ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिपछिको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा भारत पूर्ण रूपमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार तथा भारतीय जनताको तर्फबाट नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन् ।

सिंहले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना तथा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेपाल-भारतबीचको गहिरो सम्बन्ध स्मरण गर्दै सिंहले भारत सधैं नेपालको ‘सुख-दुःखको साथी’ रहेको बताएका छन् ।

कठिन परिस्थितिमा भारत नेपाली नागरिकसँग काँधमा काँध मिलाएर उभिएको उल्लेख गर्दै उनले बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार र पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

data-href="