दाङ,२१ भदौ । रसुवामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सुन्नी कादरीया जामा मस्जिद समिति, तुलसीपुर दाङले प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकले कठिनाइ भोगिरहेका बेला पीडित परिवारको राहतका लागि समितिले आर्थिक सहयोग गरेको हो।
विपद्का समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै समितिले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ।
समितिले प्राकृतिक विपद्का कारण घर, सम्पत्ति तथा दैनिक जीवनमा असर परेका नागरिकलाई राज्य तथा विभिन्न संघसंस्थाबाट राहत र सहयोग आवश्यक रहेको बताएको छ। सोही आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो तर्फबाट सहयोगस्वरूप रकम प्रदान गरिएको समितिको भनाइ छ।
समितिले विपद्का समयमा धर्म, समुदाय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा हातेमालो गर्नुपर्नेमा जोड दिएको छ।
प्राकृतिक विपद्का बेला पीडितको साथमा उभिँदै सहयोग गर्ने उद्देश्यले गरिएको यो पहललाई समितिले सामाजिक उत्तरदायित्व र मानवीय सेवाका रूपमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस