after_navbar

परिवारभित्रै महिला तथा किशोरी असुरक्षित


२ घण्टा अगाडि


दाङ। लुम्बिनी प्रदेशमा महिला तथा किशोरीमाथि हुने लैङ्गिक हिंसाका अधिकांश घटना घर तथा पारिवारिक सम्बन्धभित्रै हुने गरेको तथ्य सार्वजनिक भएको छ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले दाङ, कपिलवस्तु र रुपन्देहीमा सन् २०२६ को अप्रिलदेखि जुनसम्म अभिलेखीकरण गरेका घटनाको विश्लेषण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो।

ओरेकका अनुसार तीन महिनाको अवधिमा लैङ्गिक विभेदमा आधारित ७५ वटा हिंसाका घटना अभिलेख भएका छन्। तीमध्ये ५२ वटा अर्थात् ६९.३३ प्रतिशत घरेलु हिंसाका घटना छन्। यस्तै, १६ वटा सामाजिक हिंसा र सात वटा यौन हिंसाका घटना अभिलेख भएका छन्।

अभिलेखित सात यौन हिंसाका घटनामध्ये तीनवटा बलात्कार, तीनवटा यौन दुर्व्यवहार र एउटा वैवाहिक बलात्कार रहेको ओरेकले जनाएको छ। २६ देखि ३५ वर्ष उमेर समूहका महिला सबैभन्दा बढी हिंसाबाट प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ।

ओरेकले सार्वजनिक गरेका प्रतिनिधिमूलक घटनाले महिला तथा किशोरी आफ्नै परिवार र विश्वासको सम्बन्धभित्र समेत असुरक्षित रहेको देखाएको छ।

दाङकी एक १५ वर्षीया किशोरी आफ्नै बुवाबाट पटकपटक यौन शोषणमा परेको, अर्की १४ वर्षीया किशोरी बाल्यकालदेखि नै दुईपटक यौन हिंसामा परेको तथा कपिलवस्तुकी ३६ वर्षीया महिला श्रीमान्बाट निरन्तर घरेलु तथा यौन हिंसामा परेको घटनालाई ओरेकले उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

ओरेकले महिला तथा किशोरीमाथिको हिंसा व्यक्तिगत अपराधमा मात्र सीमित नभई परिवारभित्रको शक्ति असमानता, पितृसत्तात्मक सोच तथा हिंसालाई पारिवारिक विषयका रूपमा लुकाउने प्रवृत्तिसँग जोडिएको जनाएको छ।

हिंसा भएपछि मात्र प्रतिक्रिया दिनुभन्दा हिंसा हुनै नदिने रोकथाम, प्रभावितको सुरक्षा, सहज न्याय र आवश्यक सहयोगका संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने ओरेकको निष्कर्ष छ। परिवारको प्रतिष्ठा वा सामाजिक दबाबका नाममा हिंसा लुकाउने, पीडितलाई दोष दिने तथा जबर्जस्ती मिलापत्र गराउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा पनि ओरेकले जोड दिएको छ।

प्रहरी, न्यायिक निकाय, स्वास्थ्य संस्था, स्थानीय सरकार र नागरिक समाजबीच प्रभावकारी समन्वयमार्फत महिला तथा किशोरीले आफ्नै घरभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउनुपर्ने ओरेकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

data-href="