after_navbar

बाढीप्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि


० मिनेट अगाडि


रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण नागरिकतासहित महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढीप्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका क्रममा सर्वसाधारणका नागरिकतासहित महत्त्वपूर्ण कागजात हराएका वा नष्ट भएका थिए।

नागरिकता नहुँदा राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौँस्थित होल्डिङ सेन्टरमै पुगेर सेवा दिन थालिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय र गोसाइँकुण्ड गाउँपालिकाको पहलमा सेवा सुरु गरिएको उनले बताए।

सेवाअन्तर्गत होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिका लागि आवेदन फाराम सङ्कलन गरिनेछ। त्यसपछि फाराम जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गरी नागरिकता छपाइ गरिने र पुनः होल्डिङ सेन्टरमै लगेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष तामाङले बताए।

गाउँपालिकाका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ। प्रभावितको आवश्यकताअनुसार अन्य प्रशासनिक सेवासमेत क्रमशः उपलब्ध गराइनेछ।

यसैबीच, नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई नागरिकताको प्रतिलिपि उपलब्ध गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेसहितको टोली आइतबार त्यहाँ पुगेको थियो। टोलीले पीडितहरूको अनुसूची विवरण सङ्कलन गरी आवश्यक कागजात मिलाएर सोही स्थानबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="