after_navbar

कृष्णभीरमा खोलिएको वैकल्पिक ट्र्याक फराकिलो बनाइदै


६ मिनेट अगाडि


दाङ,२१ भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान खोलिएको वैकल्पिक ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सडक भासिएपछि अवरुद्ध राजमार्ग सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख तथा झाडी हटाएर ट्र्याक खोलिएको हो।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ। खुलेको ट्र्याकलाई आइतबारदेखि थप फराकिलो बनाउने काम भइरहेको उनले जानकारी दिए।

ट्र्याक फराकिलो बनाएपछि भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ तथा ग्रेडिङ मिलाउने र डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्नेलगायतका काम गरिनेछ। सर्वसाधारणका सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने भए पनि आगामी भदौ मसान्तसम्म सडक सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको मिश्रले बताए।

उनका अनुसार निर्माणका लागि आवश्यक प्राविधिक सामग्री तथा जनशक्तिको अभाव छैन। अहिले खोलिएको ट्र्याक मुख्यतः निर्माण सामग्री ओसारपसार, इन्धन आपूर्ति र कामदारको आवतजावतका लागि प्रयोग भइरहेको छ।

नयाँ ट्र्याक निर्माण कम्पनी शर्मा जेडआइभी जेभीले खोलेको हो। कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब २० मिटर अग्लो स्थानमा ३५० मिटर लामो ट्र्याक खोलिएको छ।

ट्र्याक खुलेपछि निर्माण सामग्री तथा इन्धन लैजान र कामदारको आवतजावत गर्न सहज भएको नेपालले बताए। उनका अनुसार अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको छ र सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन।

अब स्लोप कटिङ, भित्ता काट्ने, ढुङ्गा थुपार्ने र ग्रेडिङ मिलाउनेलगायतका काम बाँकी छन्। आपत्कालीन अवस्थामा भने सर्वसाधारण पैदल हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको नेपालले बताए।

सडक निर्माणलाई तीव्रता दिन आइतबारदेखि थप भारी उपकरण परिचालन गरिएको छ। दुई एक्साभेटर थपिएसँगै एक्साभेटरको सङ्ख्या सात पुगेको छ। त्यसबाहेक एउटा जेसिबी, लोडर र दुई बुल्डोजर पनि परिचालन गरिएको छ। आवश्यकताअनुसार थप उपकरण परिचालन गर्दै जाने निर्माण कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="