दाङ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम नगराउन आग्रह गरेको हो।
सरुवा भइसकेपछि पनि पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले त्यस्तो कार्य नगर्न सचेत गराएको छ।
मन्त्रालयका अनुसार तोकिएको म्यादपछि पनि साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी भएमा सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट त्यस्तो रकम असुलउपर गरिनेछ।
सरुवा भएका कर्मचारीलाई समयमै रमाना नदिँदा विशेषगरी स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाह प्रभावित भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस