काठमाडौ,२६ भदौ । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार महतो, उनकी श्रीमती माला कुमारी महतो, साली रीना कुशवाह र उनका पति कृष्णप्रसाद मेहताविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार महतोले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण तथा हस्तान्तरण गर्ने र स्रोत, स्वरूप तथा स्वामित्व परिवर्तन गर्नेलगायत निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।
आयोगले महतो र उनकी श्रीमती माला कुमारीविरुद्ध जनही ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बिगो मागदाबी गरेको छ।
अनुसन्धानका क्रममा महतोले भ्रष्टाचारबाट आर्जित रकम सम्पत्तिको कारोबार तथा भुक्तानीमा तेस्रो पक्षका रूपमा साली रीना कुशवाह र साडुभाइ कृष्णप्रसाद मेतालाई प्रयोग गरी आफ्ना तथा उनीहरूका बैंक खाता र सहकारीमा जम्मा गरेको खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार महतोले गैरकानुनी रूपमा आर्जन गरेको रकम श्रीमती, साली र साडुभाइमार्फत जग्गा खरिदमा समेत लगानी गरेका थिए।
रीना कुशवाह र कृष्णप्रसाद मेतालाई भने आयोगले मुद्दामा मतियार कायम गरेको छ। उनीहरूलाई मुख्य कसुरदार महतोलाई हुने सजायको आधारमा सजाय माग गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस