after_navbar

संसदमा तोसिमाको प्रश्न:”राज्य खोज्दै अस्पताल पुगेकी बबितासम्म राज्यको सेवा किन पुगेन?”


३ मिनेट अगाडि


काठमाडौ,२६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाहिर महिलाले बच्चा जन्माउनुपर्ने अवस्था आउनु राज्यको स्वास्थ्य सेवा र अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न भएको बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले संविधानले स्वास्थ्यको हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरे पनि नागरिकले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको बताइन्।

राजविराज नगरपालिका-१४ पर्साहीका हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई प्रसव व्यथा लागेपछि अस्पताल लगिएको र उपचारका लागि आवश्यक रकम नभएको भन्दै भर्ना नगरिएको घटनाप्रति उनले सरकारको ध्यानाकर्षण गराइन्। उनका अनुसार बबितासँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र थियो।

प्रसव पीडामा रहेकी महिलालाई तत्काल भर्ना गरी उपचार सुरु गर्नुपर्नेमा अस्पतालबाटै बाहिरिनुपर्ने अवस्था कसरी आयो भन्दै कार्कीले प्रश्न गरिन्।

“संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौँ, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक लेख्यौँ। तर कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले पाउने व्यवहारिक सेवाबीच यति धेरै दूरी किन?” उनले प्रश्न गरिन्।

अस्पताल प्रशासनले समेत बिरामी कहिले र कसरी अस्पतालबाट बाहिरिइन् भन्नेबारे आफूहरूलाई जानकारी नभएको जवाफ दिएको भन्दै उनले आपत्ति जनाइन्।

“प्रसव पीडामा भएकी महिलालाई तत्काल भर्ना गरेर तपाईं कतै नजानुस्, तपाईंको घर खुलेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौँ भन्नुपर्ने थियो। त्यो भनियो कि भनिएन?” कार्कीले प्रश्न गरिन्।

सडकपेटीमा बच्चा जन्माउनुपर्ने अवस्था राज्यको स्वास्थ्य सेवा नागरिकसम्म पुग्न नसकेको उदाहरण भएको उनको भनाइ थियो। राज्य खोज्दै बबिता अस्पताल पुगिन्। तर राज्यको सेवा बबितासम्म पुगेन,” उनले भनिन्।

हरेक गर्भवती महिलासम्म राज्यको स्वास्थ्य सेवा पुग्नुपर्नेमा जोड दिँदै कार्कीले सुरक्षित मातृत्वको अधिकार व्यवहारमै सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। संविधानले आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित गर्न नहुने, स्वास्थ्य उपचारसम्बन्धी जानकारी पाउने तथा स्वास्थ्य सेवामा समान पहुँचको हकसमेत सुनिश्चित गरेको छ।

संवैधानिक व्यवस्था हुँदाहुँदै प्रसव पीडामा रहेकी महिलाले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनुले निःशुल्क तथा आकस्मिक स्वास्थ्य सेवाको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको सांसद कार्कीले बताइन्।

प्रतिक्रिया दिनुहोस

data-href="