काठमाडौ। गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि बेपत्ता भएकी इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गरेकी छन्। तर, उनको सफलताको खुसी मनाउने अवस्थामा परिवार छैन। २८ दिनदेखि छोरीको अवस्थाबारे कुनै जानकारी नपाउँदा परिवार पीडामा छ।
लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा ऋचाले क्रम संख्या १२ मा नाम निकाल्दै सब-इन्जिनियर पदमा सफलता हासिल गरेकी हुन्।
मोरङको पथरी शनिश्चरे-७ स्थायी घर भई हाल विराटनगर-३ मा बस्दै आएको निरौला परिवारकी ऋचा पछिल्लो ६ महिनादेखि २१६ मेगावाट क्षमताको अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्।
भदौ १० गते आएको बाढीपछि उनी बेपत्ता भएकी हुन्। बाढी आएको लामो समय बितिसक्दा पनि सरकारी निकायबाट उनको अवस्थाबारे परिवारलाई आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।
ऋचाकी दिदी रक्षा निरौलाका अनुसार ऋचाले आफू फ्रेसर भएकाले अनुभवका लागि मात्रै लोकसेवाको परीक्षा दिन लागेको बताएकी थिइन्। ‘ट्रायलका लागि मात्र परीक्षा दिन्छु, सक्दिनँ होला’ भन्ने सोचका साथ परीक्षा दिएकी ऋचाले पहिलो प्रयासमै सफलता हासिल गरेकी हुन्।
बहिनीको सफलताको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै रक्षा निरौलाले लेखेकी छन्,- ‘तिमीले त “म फ्रेसर हुँ, सक्दिनँ होला, ट्रायलका लागि मात्र परीक्षा दिन्छु” भनेकी थियौ। तर पहिलो पटकमै गरेर देखायौ। आज तिमी हामीसँग भएको भए कति खुसी हुन्थ्यौ होल! आशा छ, तिमी सुरक्षित छौ र चाँडै फर्केर आउनेछौ।’
ऋचाको सफलताले परिवार र आफन्तमा गर्वको अनुभूति गराएको छ। तर, त्यही सफलताको खुसीसँगै ऋचा कहाँ छिन् भन्ने अनिश्चितताले परिवारको पीडा झनै गहिरिएको छ।
ऋचाका बुवा लीलाप्रसाद निरौलाले जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरूको उद्धार तथा खोजीमा सरकारले ढिलाइ र लापरवाही गरेको आरोप लगाएका छन्। बेपत्ता भएका कर्मचारीहरूको अवस्थाबारे अहिलेसम्म स्पष्ट जानकारी दिन नसकेको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।परिवारका लागि अहिले सबैभन्दा ठूलो प्रतीक्षा भनेको उनको सफलताको खुसी सँगै मनाउने गरी उनी सकुशल घर फर्किनु हो।
प्रतिक्रिया दिनुहोस