after_navbar

जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला


७ मिनेट अगाडि


चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। रोनाल्डो विषहजारी पोस्टनजिकै मृत भेटिएको हो।

रोनाल्डोको मृत्युको कारण भने खुलिसकेको छैन। घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ। मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्र यकिन हुने निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरले बताए।

सौराहा-खोरसोर क्षेत्रको ‘सेलिब्रिटी’का रूपमा परिचित रोनाल्डोले त्यहाँस्थित हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास लामो समयदेखि प्रभाव जमाएको थियो। केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले बताए।

करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिह्नसमेत भेटिएका छन्। संघर्षकै क्रममा उसले पुच्छरसमेत गुमाएको थियो।

रोनाल्डोको मृत्युले सौराहा-खोरसोर क्षेत्रमा लामो समयदेखि परिचित रहेको एक चर्चित जंगली हात्तीको कथा समाप्त भएको छ। यद्यपि, उसको मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्र स्पष्ट हुने निकुञ्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="