after_navbar

नरपानीमा खुल्यो ‘सुपा भ्यू रिसोर्ट’


७ मिनेट अगाडि


अर्घाखाँची २ असोज । पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको अर्घाखाँचीको नरपानीमा आधुनिक सुविधासहितको ‘सुपा भ्यू रिसोर्ट’ सञ्चालनमा आएको छ। प्राकृतिक सौन्दर्य, चिसो मौसम र पहाडी वातावरणको आनन्द लिन आउने पर्यटकलाई लक्षित गर्दै रिसोर्टले असोज १ गतेदेखि आफ्नो सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो।
असोज १ गतेदेखि होटलले आफ्नो सेवा शुभारम्भ गरेको सुपा भ्यू रिसोर्टका सीइओ यामु थापाले जानकारी दिए। उनका अनुसार पर्यटकको रोजाइ र आवश्यकतालाई ध्यानमा राख्दै रिसोर्टमा आधुनिक आतिथ्य सेवासहित पारिवारिक वातावरण तयार गरिएको छ।
रिसोर्टमा डिलक्स तथा फ्यामिली रुमसहित २४ वटा कोठा रहेका छन्। त्यससँगै कार्यक्रम तथा सभा–समारोहका लागि हल, रेस्टुरेन्ट, बार, कफी सप र छुट्टै कटेजको सुविधा उपलब्ध गराइएको छ। परिवार, समूह तथा व्यक्तिगत रूपमा आउने पर्यटकलाई लक्षित गरी सेवा र संरचना तयार गरिएको रिसोर्टले जनाएको छ।
नरपानीको प्राकृतिक वातावरणसँगै स्थानीय स्वादलाई पनि रिसोर्टको पहिचान बनाउने प्रयास गरिएको छ। यहाँ नेपाली तथा थकाली खानासँगै स्थानीय रैथाने परिकारलाई प्राथमिकता दिइएको छ। स्थानीय उत्पादन र मौलिक खानाको स्वाद पर्यटकसम्म पुर्‍याउने उद्देश्यले परिकारको विविधता तयार गरिएको सञ्चालकले बताएका छन्।
“यस क्षेत्रको पर्यटकीय विकासका लागि नरपानीमा रिसोर्ट निर्माण गरेर सञ्चालनमा ल्याएका हौँ,” सुपा भ्यू रिसोर्ट प्रालिका अध्यक्ष धर्मराज पौडेलले भने, “पर्यटनलाई आवश्यक पर्ने सुविधाहरू एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट निर्माण गरिएको हो।”
केही युवाको सहभागितामा लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो। स्थानीय लगानी र व्यवस्थापनलाई प्राथमिकता दिँदै निर्माण गरिएको रिसोर्टले पर्यटनसँगै स्थानीय रोजगारी र व्यवसायिक गतिविधि बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
रिसोर्टमा पाहुनाका लागि इभि गाडीको लागि चार्जिङ सेवासमेत रहेको छ। विद्युतीय सवारीको प्रयोग बढिरहेको अवस्थामा पर्यटकलाई सहज यात्रा र बसाइको अनुभव दिन चार्जिङ सुविधा थपिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
नरपानीमा आउने पर्यटकले प्राकृतिक दृश्यावलोकनसँगै आरामदायी बसाइ, खानपान र मनोरञ्जनको सुविधा एकै ठाउँमा पाउने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ। आधुनिक होटलका सुविधासँगै स्थानीय रैथानेपनलाई जोडिएकाले सुपा भ्यू रिसोर्टले नरपानीको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। शीतल हावापानी, पहाडी भू–दृश्य र आसपासका पर्यटकीय क्षेत्रको भ्रमणसँगै गुणस्तरीय बसाइको सुविधा उपलब्ध गराउने लक्ष्यसहित रिसोर्टले आगामी दिनमा सेवा थप विस्तार गर्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="