दाङ,२९ भदौ। आज देशभर साधारणतया बदली रही देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानहरूका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँ र मधेश एवम् कोशी प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ।
रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहने महाशाखाले जनाएको छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशका हिमाली, पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। महाशाखाले भारी वर्षा र चट्याङ्गको जोखिम रहेका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस