दाङ,२४ भदौ ।दाङ भ्याली यातायात प्रालिले तीनपाङ्ग्रे अटो तथा टेम्पो सञ्चालनमा देखिएका समस्या समाधान गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको ध्यानाकर्षण गराएको छ।
सोमबार प्रालिका अध्यक्ष महेन्द्र महराको नेतृत्वमा गएको टोलीले मन्त्री अहिरलाई ध्यानाकर्षण पत्र बुझाउँदै रुट परमिट, लाइसेन्स परीक्षा, कर तथा सञ्चालनसम्बन्धी नीतिगत समस्या समाधान गर्न माग गरेको हो।
व्यवसायीले तीनपाङ्ग्रे साना सवारीका लागि जिल्लास्तरीय बाटो इजाजतपत्र जारी गर्नुपर्ने, भौगोलिक अवस्थाअनुसार पटके परमिटको व्यवस्था गर्नुपर्ने तथा वैकल्पिक सडकको पहुँच नभएका क्षेत्रमा राजमार्गमा समेत सञ्चालन गर्न मिल्ने गरी कानुन संशोधन गर्न माग गरेका छन्।
त्यस्तै, कोशी प्रदेशमा लागू भएको प्रयोगात्मक परीक्षाअघि लिखित परीक्षा दिन नपर्ने व्यवस्था लुम्बिनीमा पनि लागू गर्नुपर्ने, स्थानीय तहसँग समन्वय गरी दोहोरो करको समस्या हटाउनुपर्ने र प्रदेशको करको दर घटाउनुपर्ने माग व्यवसायीको छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री अहिरले व्यवसायीका समस्या कानुनसम्मत रूपमा समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन्। मन्त्रालयको जिम्मेवारी आफूले भर्खरै सम्हालेकाले यातायात व्यवसायीका समस्याप्रति आफू सकारात्मक रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस