काठमाडौ,१८ भदौ । सरकारले मन्त्रिपरिषद् बैठकका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
बैठकले एसियाली विकास बैंक (एडीबी)बाट भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने ५० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनःस्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुलमा सहुलियत र अन्य सुविधा उपलब्ध गराउने निर्णय भएको छ।
मन्त्रिपरिषद्का मुख्य निर्णय यस्ता छन् :
१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने ५० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।
२. भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनःस्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुललगायत सहुलियत तथा सुविधा उपलब्ध गराउने।
३. साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने।
४. भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने। घाइते भए निःशुल्क उपचार तथा मृत्यु भए परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने।
५. विसं २०८३ भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिने।
६. विसं २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेप्रति सम्मानस्वरूप भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने।
७. नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने।
प्रतिक्रिया दिनुहोस