after_navbar

परराष्ट्रमन्त्री खनालद्वारा कूटनीतिक समुदायलाई भोटेकोशी बाढीबारे ब्रिफिङ


१८ घण्टा अगाडि


काठमाडौ,१८ भदौ परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा विपद् निम्त्याएको भोटेकोशी बाढीको अवस्थाबारे काठमाडौँस्थित कूटनीतिक समुदायलाई जानकारी गराएका छन्।

परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिता थियो।

मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराएका हुन्।

उनले प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताए। नेपाल–चीन सीमास्थित रसुवागढीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको उनले जानकारी दिए।

मन्त्री खनालले उक्त बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै भने, “हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ।”

उनका अनुसार बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो। यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा जनजीवन तथा भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले बताए।

सरकारले विपद्को कारण र घटनाक्रमबारे अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री खनालले प्राविधिक विज्ञहरूको सहयोगसमेत लिइरहेको बताए।

विपद्को कठिन घडीमा छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति उनले आभार व्यक्त गरे। सरकारले उपलब्ध सबै राष्ट्रिय स्रोत परिचालन गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्यलाई निरन्तरता दिने र कूटनीतिक समुदायलाई विपद्को अवस्थाबारे नियमित जानकारी गराउँदै जाने उनले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="