काठमाडौ,१८ भदौ । नेपाल-चीन सीमावर्ती क्षेत्रमा गत हप्ता आएको विनाशकारी बाढी तथा पहिरोले हिमाली क्षेत्रमा बढ्दै गएको नयाँ किसिमको विपद् जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी, चट्टान र बरफ मिसिएर तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ्दै गएको भन्दै परम्परागत पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार विज्ञहरूले हिमाली क्षेत्रमा विपद्को निगरानी र पूर्वसूचना प्रणालीलाई नयाँ ढङ्गले विकास गर्नुपर्ने सुझाव दिएका छन्।
चिनियाँ अधिकारीहरूको प्रारम्भिक मूल्याङ्कनअनुसार लाङटाङ लिरुङको उत्तरी ढलानमा करिब ५ हजार २ सय मिटरको उचाइमा हिमनदीको ठूलो भाग भाँचिएर तल खसेको थियो। त्यसक्रममा बरफसँगै ठूलो परिमाणमा चट्टान खसेपछि बरफ, माटो र पानी मिसिएको ठूलो भेल तीव्र गतिमा करिब ४ हजार मिटरको उचाइसम्म झरेको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार उक्त प्रवाह करिब २२ किलोमिटर तलसम्म पुगेको थियो। प्रारम्भिक पहिरो भएको ६ देखि ७ मिनेटमै त्यसको प्रभाव केरुङ बन्दरगाहसम्म पुगेको बताइएको छ।
यति छोटो समयमा हुने विपद्मा नदीको जलस्तर, वर्षा वा बाढी मापनमा आधारित परम्परागत पूर्वसूचना प्रणालीले मानिसलाई सुरक्षित स्थानमा पुग्न पर्याप्त समय दिन नसक्ने विज्ञहरूको भनाइ छ।
अस्ट्रियाको युनिभर्सिटी अफ ग्राजका भूवैज्ञानिक जाकोब स्टाइनरका अनुसार घटनास्थलका भू–उपग्रह तस्बिर र पहिरोले बनाएको गहिराइ हेर्दा विपद्को सुरुआत हिमनदीबाट मात्रै भएको नहुन सक्छ। पहिला चट्टानको ठूलो भाग भासिएको र त्यसमा रहेको बरफ थपिएर पहिरोको परिमाण तथा बाढीको प्रभाव बढेको हुन सक्ने उनको विश्लेषण छ।
फ्रान्सस्थित ग्रेनोबल आल्प्स विश्वविद्यालयकी विशेषज्ञ क्रिस्टिन कुकले पनि घटनाको प्रारम्भिक कारण चट्टानको ढलान भत्किनु हुन सक्ने बताएकी छन्। त्यसैले घटनालाई केवल ‘हिमनदी पग्लिएर आएको बाढी’का रूपमा बुझ्नु जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ।
विज्ञहरूका अनुसार तापक्रम वृद्धि, भूगर्भीय प्रक्रिया तथा पृथ्वीका ठूला प्लेटहरूको गतिविधिले हिमाली ढलानको स्थायित्वमा असर पार्न सक्छ। छोटो समयको हिउँ वा बरफ पग्लिनु अन्तिम कारण हुन सक्ने भए पनि त्यसअघि नै ढलान कमजोर बन्दै गएको हुनसक्ने उनीहरूको तर्क छ।
हिमाली क्षेत्रमा विपद् जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानीमा मात्रै सीमित नभई हिमनदी, चट्टान, पहाडको ढलान र नदी प्रणालीबीचको अन्तरसम्बन्धलाई समेत समेटेर अध्ययन गर्नुपर्ने विज्ञहरूले बताएका छन्।
उनीहरूले उपग्रह तथा अन्य रिमोट सेन्सिङ प्रविधिबाट हिमाली ढलानको निरन्तर निगरानी गर्न सुझाव दिएका छन्। यसबाट पहाडको सतहमा देखिने सूक्ष्म परिवर्तन, चिरा, ढलानको गति तथा असामान्य भू–आकृति पहिल्यै पहिचान गर्न सकिने उनीहरूको भनाइ छ।
क्रिस्टिन कुकले स्वचालित ढलान–विकृति निगरानी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएकी छन्। यस्तो प्रणालीले मानिस पुग्न कठिन ५ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा समेत ढलान अस्थिर हुँदै गएको संकेत पहिचान गर्न सहयोग गर्ने उनको भनाइ छ।
नेपालजस्तो भौगोलिक रूपमा जटिल देशमा यस्तो प्रविधिको आवश्यकता अझ बढी रहेको विज्ञहरूले बताएका छन्। हिमाली क्षेत्रमा सडक, जलविद्युत् आयोजना, पदमार्ग, पर्यटकीय बस्ती तथा नदी किनारमा संरचना विस्तार भइरहेकाले माथिल्लो क्षेत्रमा हुने ठूलो भौगोलिक परिवर्तनको असर धेरै तलसम्म पुग्न सक्छ।
स्टाइनरका अनुसार लाङटाङको घटना असाधारण र छुट्टै घटना मात्रै भनेर बेवास्ता गर्न मिल्दैन। तापक्रम वृद्धि र हिमाली वातावरणमा भइरहेको दीर्घकालीन परिवर्तनका कारण यस्ता घटना भविष्यमा अझ बढ्न सक्ने उनले चेतावनी दिएका छन्।
विज्ञहरूले अब पूर्वसूचना प्रणालीमा वर्षा, नदीको पानीको सतह र हिमतालमा पानीको मात्रा मात्रै नभई पहाडको ढलान कति सर्दैछ, कहाँ चिरा बढ्दैछ, कुन हिमनदी अस्थिर हुँदैछ र कुन क्षेत्रमा चट्टान खस्ने जोखिम बढ्दैछ भन्ने सूचनासमेत समेट्नुपर्ने बताएका छन्।
उनीहरूको सुझावमा हिमाली विपद् आएपछि उद्धार गर्ने क्षमताभन्दा विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने प्रविधिमा लगानी बढाउन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस