सुर्खेत,२७ भदौ । सुर्खेत प्रहरीले स्वचालित पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिका-६ का ३० वर्षीय भीमबहादुर शाही र आठबिस नगरपालिका-५ का २७ वर्षीय भुपेन्द्र शाही रहेका छन्।
सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार भदौ २२ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत हवल्दार कृष्णबहादुर रानासहितको टोलीले शाहीद्वयविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
उनीहरूलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा भदौ २६ गते भुपेन्द्र शाहीले दैलेखको आठबिस नगरपालिका-४ स्थित राकम खोली बजार नजिकैको खोल्सामा स्वचालित पेस्तोल लुकाएर राखेको जानकारी दिएका थिए।
सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको नेतृत्वमा खटिएको टोलीले दैलेख प्रहरीको सहयोगमा उक्त स्थानमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा खोली बजार नजिकैको खोल्साको झाडीमा प्लास्टिकको पोका बनाएर लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान र गोली पाँच राउन्ड बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका शाहीद्वयमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस