रसुवा ।भोटेकोशी बाढीपछि निर्माणाधीन अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ता मजदुरमध्ये १८ जनाको शव फेला परेको छ।
खोज तथा उद्धारका क्रममा आज सुरुङभित्रबाट १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट-३ को करिब १०० मिटरभित्र शव फेला परेको आयोजनाका सामाजिक विज्ञ हर्क तामाङले बताए। उनका अनुसार खोज तथा उद्धारमा नेपाली सेना र जलविद्युत् आयोजनाका कर्मचारी संलग्न छन्।
यसअघि बिहीबार सोही क्षेत्रमा छ जना मजदुरको शव फेला परेको प्रहरी प्रमुख थापाले बताए। त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन्।
बाढी आएको समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा सनाखत गर्ने कार्यसमेत बाँकी छ।
बाढीका कारण आयोजनाका निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धार जारी राखिएको थियो।
रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली-१ जलविद्युत् आयोजना जिल्लाको महत्त्वपूर्ण जलविद्युत् आयोजना हो।
मजदुर पठाउने निर्माण कम्पनीले कुन-कुन नामका कति कामदार सुरुङभित्र प्रवेश गरेका थिए भन्ने व्यवस्थित तथ्याङ्क नराखेको पाइएपछि शव पहिचानमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस