after_navbar

सल्यानमा प्रतिदिन स्क्रब टाइफस संक्रमित बढ्दै


१८ घण्टा अगाडि


सल्यान। सल्यानमा स्क्रब टाइफसको संक्रमण फैलिने क्रम जारी छ। झन्डै तीन महिनादेखि फैलिरहेको संक्रमणका कारण जिल्लामा नौ जनाको मृत्यु भइसकेको छ। नयाँ संक्रमित थपिने क्रम जारी रहेकाले प्रभावित क्षेत्रमा रोग पहिचान, उपचार र नियन्त्रणको चुनौती कायमै छ।

स्वास्थ्य सेवा कार्यालयको असोज ११ देखि २७ गते मंगलबारसम्मको विवरणअनुसार जिल्लामा स्क्रब टाइफस संक्रमितको संख्या ७५६ पुगेको छ। मंगलबार मात्रै थप १३ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ५९३ जना महिला र १६३ जना पुरुष छन्। यस अवधिमा २ हजार १६७ महिला र १ हजार १३१ पुरुष गरी ३ हजार २९८ जनाको परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए।।

पालिकागत विवरणअनुसार दार्मा गाउँपालिका संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ २४० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, बागचौर नगरपालिकाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएकामध्ये २३७ जनामा संक्रमण देखिएको छ। यी दुई स्थानीय तहमा मात्रै ४७७ जना संक्रमित भएका छन्।

संक्रमणका कारण दार्मा गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी नौ जनाको मृत्यु भएको छ। दार्मामा मृत्यु हुनेमा एक बालक, एक महिला र छ जना ज्येष्ठ नागरिक पुरुष छन्। छत्रेश्वरीमा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ।

जिल्लामा स्क्रब टाइफसबाट संक्रमित हुने महिलाको संख्या पुरुषको तुलनामा उल्लेख्य रूपमा बढी छ। कुल संक्रमितमध्ये करिब ७८ प्रतिशत महिला छन्। स्वास्थ्य कार्यालयका अनुसार संक्रमित महिलाको संख्या पुरुषभन्दा ४३० ले बढी छ।

संक्रमण नियन्त्रण तथा रोग पहिचानका लागि संघ, प्रदेश, जिल्ला र स्थानीय तहका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। शिविरमार्फत ज्वरो आएका बिरामीको परीक्षण, संक्रमितको पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ।

स्वास्थ्यकर्मीको सक्रियता र परीक्षणको दायरा बढेसँगै पछिल्लो समय ज्वरोका बिरामी तथा नयाँ संक्रमितको संख्या पहिलेको तुलनामा घट्दै गएको देखिएको छ। तर संक्रमणको जोखिम पूर्ण रूपमा हटिसकेको छैन। रोगबारे पर्याप्त जानकारी नहुँदा प्रभावित क्षेत्रका स्थानीयमा त्रास कायम रहेको छ भने गलत सूचना र अफवाहले पनि डर बढाएको छ।

चिकित्सकका अनुसार स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट मानिसमा सर्ने रोग हो। मुसामा परजीवीका रूपमा रहने माइट झाडी, घाँसे क्षेत्र तथा खेतबारीमा पाइने भएकाले त्यस्ता स्थानमा काम गर्दा संक्रमणको जोखिम हुन्छ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा टोकेको ठाउँमा कालो दाग देखिने यसका प्रमुख लक्षण हुन्। समयमै पहिचान र उपचार नभए संक्रमणले गम्भीर रूप लिन सक्छ।

स्वास्थ्यकर्मीले ज्वरो आएमा बेवास्ता नगरी नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन, झाडी तथा घाँसे क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन र घरवरपरको वातावरण सफा राख्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="