दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्न सरकारसँग माग गरेका छन्।
प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने नाममा स्थानीय तहको निर्वाचन पछि सार्न नहुने बताएका छन्।
स्थानीय तहको निर्वाचन पछि धकेल्दा जनप्रतिनिधिविहीन अवस्था आउने र त्यसले स्थानीय सरकारलाई कमजोर बनाउने उनको भनाइ छ। प्रदेशको निर्वाचन आगामी मंसिरमा हुने भएकाले दुवै निर्वाचन एकैपटक गर्दा स्थानीय तह लामो समय जनप्रतिनिधिविहीन हुने उनले बताएका छन्।
कार्यक्रममा महासचिव पोखरेलले वैदेशिक ऋणबारे पनि टिप्पणी गरेका छन्। विगतमा ऋण लिन नहुने भन्दै विरोध गर्नेहरू अहिले भारतबाट प्राप्त दुई खर्ब रुपैयाँ ऋणलाई उपलब्धिका रूपमा प्रचार गरिरहेको उनले बताएका छन्।
ऋण नलिई विकास र पूर्वाधार निर्माण गर्न नसकिने कुरा प्रधानमन्त्री बालेन्द्र शाहले पनि बुझ्न थालेको उनको भनाइ छ। तर, भारतीय एक्जिम बैंकको ऋणमा रहेका सर्तका कारण विकास आयोजना कार्यान्वयनमा समस्या आउन सक्ने उनले बताएका छन्।
दाङको घोराही-तुलसीपुर सडक निर्माणमा पनि एक्जिम बैंकको ऋणका सर्तका कारण काम अघि बढ्न नसकेको र ठेक्का रद्द गर्नुपरेको उनले स्मरण गरेका छन्। अहिले भने सरकारकै बजेटबाट सडक निर्माण सुरु गरिएको उनको भनाइ छ।
त्यस्तै, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतबाट एयर रुट प्राप्त गर्ने विषयमा सहमति हुन सक्ने सम्भावनालाई सम्झौता भइसकेको जसरी प्रचार गर्न नहुने उनले बताएका छन्। एयर रुटको सहमति भए लुम्बिनी प्रदेशसहित देशकै लागि महत्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको भए पनि कुनै निष्कर्षमा नपुगेको पोखरेलले जानकारी दिएका छन्।
प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले दाङका प्रचार विभाग प्रमुख सङ्गीत बस्यालले गरेका थिए।
प्रतिक्रिया दिनुहोस