दाङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन तुलसीपुर उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरी तयारी थालेको छ।
आगामी मंसिर ९ देखि २५ गतेसम्म सञ्चालन हुने अभियानमा महिला हिंसा न्यूनीकरण, हिंसाका घटना रोकथाम र जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने विषयमा छलफल गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको छलफलमा सहभागीहरूले अभियानलाई औपचारिकतामा सीमित नगरी व्यवहार परिवर्तनमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले महिला हिंसा अन्त्यका लागि पितृसत्तात्मक सोच परिवर्तन गर्नुपर्ने बताए। सेतो रिबन बाँधेर मात्रै हिंसा अन्त्य नहुने भन्दै उनले बालविवाह, बाल यौन दुरुपयोग तथा पछिल्लो समय बढ्दै गएको डिजिटल र साइबर हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
छलफलमा ओसीएमसीमा हिंसापीडित तथा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू दैनिकजसो आउने गरेको र सेफ हाउसमा पनि जटिल प्रकृतिका घटना बढिरहेको जानकारी गराइएको थियो। सेफ हाउसका अध्यक्ष लक्ष्मी चौधरीले पछिल्लो चरणमा आएका सातवटा घटनामध्ये दुई जना अस्पतालमा भर्ना भएर उपचाररत रहेको बताइन्।
बालअधिकारकर्मी नवराज लामिछानेले गत वर्षको अभियानको प्रभावकारिता समीक्षा गरेर यस वर्षका कार्यक्रम तय गर्नुपर्ने सुझाव दिए। उनले महिला हिंसा अन्त्यका लागि बनाइएका नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस