after_navbar

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी


१८ घण्टा अगाडि


काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधारका लागि सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयसँग शुक्रबार भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापाले सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माणको काम भइरहेको जानकारी दिए। उनका अनुसार नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको कामसमेत अघि बढाइएको छ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै त्रिविलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको उपकुलपति थापाको भनाइ थियो।

छलफलमा शिक्षामन्त्री सस्मित पोखरेलका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी (इ–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने उनको भनाइ थियो। क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने भन्दै झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजान, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न र शैक्षिक सत्र व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै, शिक्षा मन्त्रालयका सहसचिव भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="