काठमाडौ। नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न ५ बजे सुरु हुनेछ।
आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने लक्ष्यमा हुनेछ। पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ। छ अङ्क जोडेको ऊ तालिकाको तेस्रो स्थानमा छ। प्लेअफमा स्थान बनाउने सम्भावना बलियो पार्न सुदूरपश्चिम आजको खेल जित्न चाहन्छ।
यता, जनकपुर पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा छ। पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार बेहोरेको छ। चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ। प्रतियोगिताको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। एनपिएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस