after_navbar

इन्टरनेट सेवा प्रदायकलाई टीएससी विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन


घण्टा अगाडि


काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिला गरेको विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयनका लागि सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको राजस्व दाखिलासम्बन्धी विवरण माग गरेको हो।

प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार सेवा प्रदायकले मासिक रूपमा इन्टरनेट बिक्री, मर्मतसम्भार, उपकरण बिक्री तथा अन्य शीर्षकबाट प्राप्त आम्दानीको छुट्टाछुट्टै विवरण बुझाउनुपर्नेछ। साथै कुल आय, दाखिला गरिएको दस्तुर, रकम बुझाएको मिति र ढिलाइ भए बुझाइएको ब्याजसमेत खुलाउनुपर्नेछ।

आर्थिक ऐन, २०८३ अनुसार टेलिफोन, मोबाइल र इन्टरनेट सेवा प्रदायकले ग्राहकबाट लिने महसुलको १० प्रतिशत दूरसञ्चार सेवा दस्तुरका रूपमा असुल गर्नुपर्ने व्यवस्था छ। यस्तो दस्तुर सेवा प्रदायकले अर्को महिनाको २५ गतेभित्र सरकारको राजस्व खातामा जम्मा गरिसक्नुपर्छ।

तोकिएको समयभित्र दस्तुर दाखिला नगरे बाँकी रकममा मासिक पाँच प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था पनि ऐनमा छ। यद्यपि, इन्टरकनेक्सन शुल्क र फिक्स्ड ब्रोडब्यान्ड सेवाको शुल्कको ५० प्रतिशतसम्मको मर्मतसम्भार शुल्कमा यस्तो दस्तुर लाग्ने छैन।

प्राधिकरणले सेवा प्रदायकको वास्तविक आम्दानी, सरकारलाई बुझाउनुपर्ने राजस्व र दाखिला भएको रकमबीचको अवस्था परीक्षण तथा दस्तुर संकलन प्रक्रियालाई व्यवस्थित बनाउन विवरण माग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="