काठमाडौ। सशस्त्र प्रहरी बल नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। सशस्त्र प्रहरीको उजुरीपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको हो।
सशस्त्र प्रहरीको कम्ब्याट पोसाकको पाइन्ट लगाएर एक व्यक्ति सडकपेटीमा सुतिरहेको भिडियो विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोबारे आन्तरिक छानबिन गर्दा भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी संगठनका कर्मचारी नभएको पुष्टि भएको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले विज्ञप्ति जारी गर्दै संगठनको पोसाक दुरुपयोग गर्ने व्यक्ति र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
भिडियोमा देखिएका व्यक्तिलाई सशस्त्र प्रहरीकै सुरक्षाकर्मीका रूपमा प्रस्तुत गर्दै वास्तविकता नबुझी भ्रामक सामग्री फैलाउँदा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने संगठनको भनाइ छ।
सशस्त्र प्रहरीले उक्त भिडियो र त्यससँग जोडिएका भ्रामक सामग्रीलाई संगठनको वास्तविक गतिविधिका रूपमा नबुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस