after_navbar

१०९ सामुदायिक विद्यालयका लागि साढे ६ अर्ब बजेट


१३ घण्टा अगाडि


दाङ। सरकारले विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने योजना अघि बढाएको छ। दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल गरेका देशभरका १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको काम थालिएको हो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये पहिलो चरणमा ८९ विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको उनले बताए।

निकासा भएको रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले जानकारी दिए। यसले विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित सिकाइ वातावरण तयार गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।

मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको अवस्थालाई ध्यानमा राखेर ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरिएको बताए।

उनले आगामी दिनमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको रूपान्तरणमा सबैलाई हातेमालो गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="