after_navbar

चक्रवात ‘अर्नब’को प्रभावः आजदेखि वर्षा र हिमपातको सम्भावना


२ घण्टा अगाडि


दाङ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आजदेखि शनिबारसम्म नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

भारतबाट नेपालतर्फ अघि बढिरहेको प्रणालीका कारण बिहीबारदेखि नै मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्नेछ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो मध्यमसम्मको वर्षा हुने र बेलुकादेखि शनिबारसम्म केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो तीव्र हावाहुरी चल्ने सम्भावना छैन।

नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको प्रणाली नेपालसम्म आइपुग्दा कमजोर भइसक्ने उपाध्यायको भनाइ छ। उनका अनुसार बिहीबार बेलुकादेखि विभिन्न स्थानमा वर्षा सुरु हुने र शुक्रबार वर्षाको तीव्रता बढ्न सक्नेछ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिनअनुसार शनिबारसम्म देशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ। आइतबारदेखि भने मौसममा सुधार आउने अनुमान गरिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ।

सम्भावित मौसम प्रतिकूलतालाई ध्यानमा राख्दै मौसमविद्हरूले शनिबारसम्म धान नकाट्न, उच्च हिमाली क्षेत्रमा नजान, सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="