दाङ। दशैँमा कानुनअनुसार चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्।
उजुरीपछि विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। विभागका अनुसार दशैँअघि कार्यालय समयभित्र इमेल र अनलाइन पोर्टलमार्फत ६ सयभन्दा बढी उजुरी प्राप्त भएका थिए।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने व्यवस्था छ। श्रमिकले कुनै विशेष चाडपर्वका लागि खर्च माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दशैँमा यस्तो खर्च उपलब्ध गराउनुपर्छ।
एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई समेत काम गरेको अवधिका आधारमा अनुपातिक रूपमा चाडपर्व खर्च दिनुपर्ने कानुनी व्यवस्था छ। तर, कानुनले सुनिश्चित गरेको सुविधा नपाएको भन्दै श्रमिकले विभागमा उजुरी दिएका हुन्।
विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार प्राप्त उजुरीमाथि आवश्यक कारबाही अघि बढाइएको छ।
विभागले असोज २३ गते नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सलाई पत्र पठाउँदै आबद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन र श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको थियो।
त्यस्तै, असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० लाई पत्राचार गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो।
विभागको निर्देशनपछि श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन थालिएको जनाइएको छ। औपचारिक रूपमा प्राप्त उजुरीका अतिरिक्त सामाजिक सञ्जालमार्फत आएका गुनासाका आधारमा पनि सम्बन्धित रोजगारदातासँग सम्पर्क गरी समस्या समाधानको पहल भइरहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस