सल्यान । छाडा गाईले किसानको बाली नष्ट गर्न थालेपछि सल्यानको त्रिवेणी गाउँपालिकाले वडा नम्बर ४ फलाबाङमा गौशाला सञ्चालनमा ल्याएको छ। २० वटा गाई अट्ने क्षमताको गौशालामा हाल बजार क्षेत्रमा छाडिएका आठ गाई राखिएको छ।
गाईको रेखदेख तथा आहाराका लागि पालिकाले एक जना हेरालुसमेत व्यवस्था गरेको छ। छाडा गाईले खेतबारीमा लगाएको बाली नष्ट गर्नुका साथै बजार क्षेत्रमा फोहोर बढाउने र सडक दुर्घटनाको जोखिम निम्त्याउने समस्या बढेपछि गौशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए।
पालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरी गौशालाको गोठ र फिल्ड निर्माण गरेको हो। गौशालालाई थप व्यवस्थित बनाउन यस वर्ष पालिका र प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष रावतले जानकारी दिए। उक्त बजेटबाट घेरबार, थप गोठ निर्माण, आहाराको व्यवस्थापन र बहुवर्षीय घाँस खेती गरिने तयारी छ।
पशु शाखा अधिकृत बसन्त रावतका अनुसार गौशालालाई संरक्षण केन्द्रका रूपमा मात्र नभई उत्पादनमूलक बनाउने योजना छ। यहाँबाट दूध र कम्पोस्ट मल उत्पादन गरी बिक्री गर्ने तथा स्थानीय जातका गाईबाट उन्नत जातका बहर र गाई उत्पादन गर्ने तयारी गरिएको छ।
उनका अनुसार गाईको संरक्षण र व्यवस्थापनका लागि पालिकाले गौशाला सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ समेत बनाएको छ। पशुचौपाया पालेर बुढो भएपछि छाड्ने प्रवृत्ति रोक्न किसानले पालेका गाईगोरुको तथ्यांक संकलन गरी अभिलेख राख्ने तयारी पनि गरिएको छ।
गौशाला सञ्चालन समितिका अध्यक्ष हेमराज बुढाले गौशाला सञ्चालनमा आएपछि किसानलाई राहत मिलेको बताए। यसअघि छाडा गाईबाट बाली जोगाउन किसान दिनभरि र रातिसम्म खेतबारीमा पहरा दिनुपर्ने अवस्था रहेको भन्दै उनले अब त्यस्तो चिन्ता कम हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस