काठमाडौ। इजिप्टको गिजास्थित व्यस्त राजमार्गमा इन्धन बोकेको ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
बुधबार गिजाको वराक जिल्लास्थित रिङ रोडमा ट्यांकर दुर्घटनापछि भीषण आगलागी भएको थियो। आगलागीमा कार र मोटरसाइकलसहित कम्तीमा २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन्।
घाइतेलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ। उद्धार तथा उपचारका लागि घटनास्थलमा ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। इजिप्टका स्वास्थ्यमन्त्री खालेद अब्देल गफ्फारले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
दुर्घटनाको कारण पत्ता लगाउन सरकारी अभियोजनकर्ताले अनुसन्धान सुरु गरेका छन्। आगलागीमा जलेर पहिचान गर्न कठिन भएका शवको सनाखतका लागि डीएनए परीक्षण भइरहेको छ।
घटनाप्रति राष्ट्रपति अब्देल-फताह अल-सिसीले दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस