दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा राप्ती करिडोर क्षेत्रका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने विपद् व्यवस्थापन तालिम लमहीमा सम्पन्न भएको छ ।
तालिममा वडा तहमा विपद् व्यवस्थापनमा सक्रिय स्वयंसेवक, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक तथा रेडक्रस स्वयंसेवकको सहभागिता रहेको थियो ।
तालिममा विपद् व्यवस्थापन, बाढी पूर्वसूचना प्रणाली र पूर्वानुमानमा आधारित पूर्वकार्यका विषयमा प्रशिक्षण दिइएको थियो । तालिमपछि सहभागीले आफू आबद्ध समुदाय तथा विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धतासहित कार्ययोजना बनाएका छन् ।
नेपाल रेडक्रस सोसाइटीले विश्व वन्यजन्तु कोषसँगको समन्वय र फिनिस रेडक्रसको सहयोगमा लमही नगरपालिका-२, ६ र ८ का चारवटा समुदायमा विपद् व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गर्न लागेको जिल्ला शाखाका मन्त्री प्रकाश श्रीवन्दले जानकारी दिए ।
तालिमको उद्घाटन लमही उपशाखाका सभापति थानेश्वर गैरेको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा उपप्रमुख योगीले विपद्को समयमा उद्धार तथा राहत र पूर्वतयारीका काममा रेडक्रससँग नगरपालिकाले समन्वय गर्दै आएको बताइन् । जलवायु परिवर्तनको असर बढ्दै गएकाले पूर्वानुमानमा आधारित पूर्वकार्यका गतिविधिलाई सबै पक्षले समन्वय गरेर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
तराई भू–परिधि तथा संरक्षण कार्यक्रमका टिकाराम चौधरीले वन्यजन्तु संरक्षणमा समेत विपद् पूर्वतयारी आवश्यक रहेको भन्दै रेडक्रससँग सहकार्य गरेर गतिविधि सञ्चालन गरिने बताए ।
तालिममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्राविधिक संयोजक भरतराज भाट, भीमलाल मरासिनी र विश्राम अधिकारीले प्रशिक्षण दिएका थिए ।
तालिम समापन गर्दै जिल्ला शाखाका सभापति मदन गौतमले सहभागीलाई सिकेका सीप समुदाय र विद्यालयमा प्रयोग गरी जनचेतना फैलाउन आग्रह गरे । त्यसका लागि आवश्यक प्राविधिक सहयोग गर्न जिल्ला शाखा तयार रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस