दाङ, १५ पुस। ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर सरकारले उच्च स्तरीय आयोग बनाउने भएको छ।
आइतबार सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च स्तरीय छानबिन बनाउने जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोग ऐन ,२०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आयोग गठन लगत्तै आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने उनले बताए।
कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको बाहिर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस