काठमाडौं,२१ जेठ । भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्याएका छन्। उनले संसदमा उठेका सबै प्रश्नहरूको जवाफ दिन तयार रहेको स्पष्ट पारेका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लेखकले भने, “भिजिट भिसा प्रकरणबारे सबैको चासो भएकाले समितिमा होइन, संसदमा विस्तृत रूपमा जवाफ दिन चाहन्छु। त्यसका लागि वातावरण बनाइदिन आग्रह गर्छु।”
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका छन्। गृहमन्त्री लेखकमाथि पनि प्रत्यक्ष संलग्नताको आशंका गर्दै विपक्षी दलहरूले राजीनामा माग्दै आएका छन्।
समितिमा मन्त्री लेखकले भने, “यदि यो जिज्ञासा समितिका केही सदस्यहरूसम्म सीमित हुन्थ्यो भने म यहीँ जवाफ दिन्थेँ। तर यो विषयमा धेरै सांसदहरूको चासो भएकाले संसदमा बोलेर सबै प्रश्नको उत्तर दिन चाहन्छु।”
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। गृहमन्त्री लेखकले त्यही बैठकमा आफ्नो धारणा राख्ने संकेत दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस