दाङ,१० असार । दाङका १० वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका १० वटै स्थानीय तहले जम्मा करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
स्थानीय तहहरूबाट प्रस्तुत बजेटहरू विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा महिला, बालबालिका र वृद्धजन लक्षित कार्यक्रमहरूमा केन्द्रित छन्।
सबैभन्दा ठूलो बजेट घोराही उपमहानगरपालिकाले प्रस्तुत गरेको छ। उपमहानगरपालिकाले २ अर्ब २९ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य र वातावरणमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।
त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोड ६६ लाख रुपैयाँको बजेट पारित गरेको छ। तुलसीपुरले पनि स्वास्थ्य, कृषि तथा उद्यमशीलता प्रवर्द्धनमा जोड दिएको जनाएको छ।
यस्तै, लमही नगरपालिकाले ८८ करोड ३१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख ९४ हजार, राप्ती गाउँपालिकाले ६८ करोड ५९ लाख ७४ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ।
त्यस्तै , राजपुर गाउँपालिकाले ६० करोड २४ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गर्दा बबई गाउँपालिकाले ५० करोड ५१ लाख र शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ।भने दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख ४१ हजारको बजेट विनियोजन गरेको छ।
जिल्लाका सबै स्थानीय तहहरूबाट कुल ८ अर्ब ४९ करोड २२ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको हो। स्थानीय तहहरूले चालु खर्चसँगै पूँजीगत खर्च र दीगो विकास परियोजनाहरूमा केन्द्रित रहेर बजेट तयार पारेको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस